राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको बयान शुक्रबार काठमाडौंमा शुरु हुँदैछ । लामिछानेलाई बिहीबार साँझ पोखराबाट काठमाडौं ल्याएर जिल्ला प्रहरी परिसरको हिरासतमा राखिएको छ ।
शुक्रबारदेखि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा लामिछानेको बयान हुनेछ । स्वर्णलक्ष्मी सहकारी संस्थाको रकम अपचलनमा पनि दोषी देखिएको भन्दै उनलाई काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो ।
स्वर्णलक्ष्मीबाट लामिछानेले व्यक्तिगत र जीबी राईसँग मिलेर ऋण लिएको पाइएको छ। लामिछाने एक्लैले ४६ लाख सवारी ऋण र जीबीसँग संयुक्त थप ४६ लाख लिएको तथ्यमा टेकेर उनीमाथि थप अनुसन्धान हुनेछ । पक्राउ पूर्जी जारी भएपछि कात्तिक २ गते काठमाडौंमा पक्राउ गरी उनलाई पोखरा पुर्याइएको थियो ।
पछिल्लोपटक कास्की अदालतले लामिछानेमाथि म्याद थपका लागि १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । यसबीचमा बुटवलको सुप्रिम सहकारीको बचत हिनामिनामा रूपन्देहीमा बयान भइसकेको छ। काठमाडौंमा बयान सकेलगत्तै लामिछानेलाई चितवन लैजाने तयारी छ। साहारा चितवन सहकारीका २४ बचतकर्ताले पूरक जाहेरी दिएपछि पक्राउ पुर्जी जारी भइसकेको छ ।
लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा अनुसन्धान भइरहेको छ ।
कोहलपुर खबर । १४ मंसिर २०८१, शुक्रबार ०९:५५