२८ जेठ, काठमाडौं । क्रिकेटर सन्दिप लामिछाने विश्वकप क्रिकेटका वेस्टइण्डिजमा हुने खेलहरूमा सहभागी हुने भएका छन् ।
क्रिकेट एशोसिएसन अफ नेपाल (क्यान) का सचिव पारस खड्काका अनुसार वेस्टइण्डिजमा हुने खेलमा लामिछाने राष्ट्रिय क्रिकेट टोलीमा समावेश भएर खेल्ने छन् । लामिछाने वेष्टइन्डिज पुगिसकेका छन् । आईसीसीको समन्वयमा लामिछानेले वेष्टइण्डिजमा हुने खेल खेल्न लागेको क्यानले जनाएको छ । लामिछानेले प्रतिश जिसीको स्थान लिने छन् ।
उनले वेष्टइन्डिजमा दक्षिण अफ्रिका र बंगलादेशविरुद्धका खेल खेल्ने छन् । विश्वकप क्रिकेट २०२४ का खेलहरू अमेरिका र वेष्टइण्डिजमा भइरहेका छन् । नेपाली राष्ट्रिय टोलीका अरु सदस्यहरु अमेरिका गएर खेलिरहे पनि सन्दीपलाई अमेरिकाले भिसा दिएको थिएन ।
यसअघि नेपालले पहिलो खेल अमेरिकाको डालसमा नेदरल्याण्ड्ससँग खेलेको थियो भने दोस्रो खेल बुधबार बिहान न्यूयोर्कमा श्रीलंकासँग खेल्दैछ । त्यसपछि थप दुई खेलका लागि नेपाल वेष्टइन्डिज जानेछ ।
सन्दीपले आफ्नो फेसबुक पोस्टमार्फत् पनि नेपाल सरकार, परराष्ट्र मन्त्रालय, खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् र क्यानलाई अमेरिकाको भिसाको लागि गरेको पहलको लागि धन्यवाद दिएका छन्।
उनले लेखेका छन “तर मैले भिसा पाउन सकिनँ । तर म वेस्ट इन्डिजमा हुने दुई खेलमा टोलीमा हुने छु । यो मेरो र सबै क्रिकेट प्रेमीहरूको चाहना हो ।”
कोहलपुर खबर । २८ जेष्ठ २०८१, सोमबार १०:४१