व्यवसायीक तरकारी खेतीबाट मनग्य आम्दानी

 
विवेक रेग्मी, कोहलपुर । परम्परागत खेती गर्दा जीविकोपार्जन गर्न धौधौं भएपछि बाँके बैजनाथका कृषक व्यावसायिक तरकारी खेतीतर्फ आकर्षित बन्न थालेका छन् ।

थोरै लगानीमा धेरै आम्दानी हुन थालेपछि बैजनाथ गाँउपालिकाका कृषक तरकारी खेतीप्रति आकषिर्त हुन थालेका छन् । कृषकहरुले मौसमी तथा बेमौसमी तरकारी उत्पादन गरी लाखौ रुपैयाँ आम्दानी गर्न थालेका छन् । तरकारी खेतीबाट वाषिक ५० हजार देखि ५ लाख रुपैयाँसम्म आम्दानी हुने गरेको स्थानीय कृषकहरु बताउँछन् । ५ वर्ष यता अतिरिक्त गाउँ गाउँमा व्यवसायीकरुपमा तरकारी खेती गरिदै आएको छ । कृषिको क्षेत्रमा काम गर्ने सामाजिक संघ संस्थाले जनचेतनामूलक कार्यक्रम तथा सहयोग गर्न थालेपछि कृषक व्यावसायिक तरकारी खेतीमा आकर्षित बन्न थालेका हुन् ।

कोहलपुर नगरपालीका १ कौसीलानगर घर भएका दन्तेराम जैसी अहिले बैजनाथ गाँउपालीका वडा नं १ मा जमिन भाडामा लिएर तरकारी खेती गरिरहेका छन् । १ बिगाह जमिनको वार्षिक ३० हजा रुपैयाँ भाडा दिने सम्झौता अनुसार जैसीले व्यावसायिक तरकारी सुरु गरेका हुन् । अहिले ५ बिगाह जमिनमा तरकारी खेती गर्दै अएका छन ।सुरुमा २ लाख रुपैयाँको लगानी गरेर २ जना मिलेर तरकारी खेती गर्न थालेका जैसीले सुरुवातमा निकै दुःख भोग्नुपरेको सुनाउछन ।

कहिले तरकारी खपत नहुने, कहीले कुहिने त कहिले जिल्ला बाहिरबाट आउने तरकारीसँग मूल्यमा प्रतिस्पर्धा गर्न नसक्दा धेरै दुःख खेप्नुपरेको उनले बताए । जमिन भाडामा लिएर शुद्ध अर्गानीक तरकारी खेती गरेको सुनेपछि जिल्ला कृषि विकास कार्यालयले पनि प्राविधिक सहयोग गरेको जैसीले बताए । तरकारी व्यावसायलाई जिल्लाकै नमूना बनाउने उद्देश्यले तरकारी खेतीमा लागेको जैसीको भनाई छ । अहिले वार्षिक झण्डै ४ देखि ५ लाख रुपैयाँसम्म आम्दानी हुने गरेको उनले बताए । मौसमी र बेमौसमी तरकारी गरी १२ प्रकारका तरकारी आफ्नो बारीमा फलाउने गरेका बताउँदै जैसीले मौसमले साथ दिएमा राम्रो आम्दानी हुने बताए ।

’सानोतिनो जागिर, व्यापार व्यवसायभन्दा कृषि पेशा राम्रो रहेछ,’ जैसीको श्रीमति पबित्रा जैसीले भनिन् । उनले थपिन मेहनत र कामप्रतिको लगावले नसोचेको सफलता मिलेको छ । विसं २०६८ सालमा दुई लाखको लगानीमा व्यावसायिक तरकारीखेती सुरु गरेउ अहिले  १० लाखभन्दा बढी पुगेको छ उनले भनीन् ।

अहिले बाखापालन पनी सुरु गरेका छौं उनले भनीन् । शुरुमा टमाटर खेती गरें, प्रतिफल दिएपछि अरु किसानले पनि शुरु गरे,“ जैसीले भने । उनले मुख्य गरी टमाटर, गोलभेंडासँगै काउली, बन्दागोभी, सिमी, बोडी, करेला, खुर्सानी, आलु, काँख्रा, लगायत मौसमी बेमौसमी तरकारी बाली उत्पादन गर्ने गरेका छन् । उनले बैजनाथ गाँउपालीका को राजीपुरमा २ बिगाह र ३ विगाह चिसापानीमा भाडा लिएर तरकारीखेती गर्दै आएका छन । उनले ५ जनालाई रोजगारी समेत दिएका छन ।

कृषकलाई तरकारी उत्पादनमा कृषि विकास कार्यालय लगायतका सरोकारवाला निकायबाट पर्याप्त प्राविधिक सहयोग हुने हो भने बाँके लगायतका जिल्ला तरकारीमा आत्मर्निभर त बन्छन् नै, कृषि क्षेत्र आम्दानीको आकर्षक माध्यम बन्न सहयोग पुग्ने थियो ।