पाटेबाघको छालासहित नेपालगन्जमा एक जना पक्राउ

७ चैत, कोहलपुर । पाटे बाघको छालासहित बाँके प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।

नेपालगन्ज २ पुष्पलाल चोक स्थित रहेको रोयल महाबुब होटलबाट दुर्लभ पाटे बाघको छालासहित बराहताल गाउँपालिका वडा नम्बर २ पाक्मा सुर्खेत बस्ने २८ बर्षको चन्द्र बहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको हो ।

होटलमा दुर्लभ पाटेबाघको छालाको कारोबार भईरहेको छ भन्ने गोप्य सूचनाको आधारमा कार्किलाई पक्राउ गरीएको हो । उक्त होटलको १०१ नं. कोठा भाडामा लिई बसेको कार्कीले हरियो कालो रङको झोलामा लुकाई छिपाई राखेको अवस्थामा पाटे बाघको छाला फेला पारी उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए ।

पाटे बाघको छालाको ५ फिट ९ ईन्च र चौडाई ३ फिट २ ईन्च रहेको प्रहरी नायब उपरीक्षक डाँगीले बताए । बाघको छाला सहित कार्कीलाई नियन्त्रणमा लिई आबश्यक अनुसन्धान एवं कारवाही अघि बढाईएको प्रहरी नायब उपरीक्षक डाँगीले बताए ।