५ फागुन, कोहलपुर । कोहलपुर नगरपालिकाका प्रमुख पूर्ण प्रसाद आचार्यले उत्कृष्ट नतिजाका साथै घर , समाज र देशका लागी असल नागरिक उत्पादन गरिनुपर्नेमा जोड दिएका छन ।
कोहलपुर १० मा रहेको जीवन ज्योति स्कुलको शनिवार आयोजित अभिभावक दिवसका अवसरमा प्रमुख आचार्यले यस्तो बताएका हुन । जीवन ज्योति स्कुलले आर्थिक हैसियत भएकाहरू सँग पैसा लिने र नहुनेहरू लाई निशुल्क र छुटमा उत्कृष्ट शिक्षा दिएको भन्दै उच्च प्रशंसा गरेका थिए ।
उनले मार्कसिटमा भएको उत्कृष्ट नतिजा लाई मात्रै उत्कृष्टता मान्न नसकिने भन्दै घर परिवार , समाज र देश प्रति जिम्मेवार र जवाफदेही नागरिक उत्पादन गरिनुपर्नेमा जोड दिए । उनले यस वर्षको कक्षा ८ को परीक्षाको नतिजाको आधारमा जीवन ज्योति उत्कृष्ट विद्यालय भएको बताउँदै विद्यालयले अतिरिक्त कृयाकलाप र समाजिक सेवा भावको समेत विकास गर्दै लैजानु पर्नेमा जोड दिए ।
उनले कोहलपुरका सामुदायिक विद्यालय र संस्थागत विद्यालय बिच शिक्षण विधि, ज्ञान र सीप बारे सहकार्य गदै शिक्षाको समान विकास गर्दै लगिने बताउँदै त्यसको लागी जीवन ज्योतिले अगुवाइ गर्नुपर्नेमा जोड दिए । सही नेतृत्वले मात्रै विद्यालय लाई उत्कृष्ट बनाउन सक्ने उनको भनाई थियो । उनले विद्यालय भर्नामा प्रवेश परीक्षा लिने विधि यसै वर्ष देखी नियम बनाएर रोक लगाउने धारणा राखे ।
कार्यक्रममा बोल्दै इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख सुन्दर तिवारीले विद्यालय प्रशासन , शिक्षक र अभिभावक सबैको सामूहिक प्रयास बाटै गुणस्तरीय शिक्षा हासिल हुनेमा जोड दिए । उनले बाल बालिकाका अगाडि गर्न नहुने काम नगर्न आग्रह गर्दै मानिसले आफूले जानेको सही कुरा लाई जीवन व्यवहारमा लागू गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा कक्षा २ देखी ४ सम्मका विद्यार्थी बिभिन्न नृत्य गीत र नाटक प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रिन्सिपल फादर जोमन जेम्सले विद्यालय र शिक्षक जस्तै अभिभावक पनि बाल बालिको शिक्षा प्रति जिम्मेवार र सचेत हुनुपर्ने बताए । उनले गुणस्तरीय साथै असल नागरिक उत्पादनमा आफूहरूको जोड रहेको बताए ।
नर्सरी देखी कक्षा १० सम्म सञ्चालनमा रहेको जीवन ज्योतिले कक्षा अनुसार फरक फरक मितिमा अभिभावक दिवस मनाउँदै आएको छ ।
कोहलपुर खबर । ५ फाल्गुन २०८०, शनिबार १७:१७