फागुन,४ कोहलपुर । नेपाल एसीसी वुमन्स प्रिमियर कप २०२४ को दोस्रो सेमिफाइनल खेलमा घरेलु टोली मलेसियासँग ४ विकेटले स्तब्ध भएको छ ।
नेपालका लागि कप्तान इन्दु बर्माले सर्वाधिक २९ रन बनाइन्। डोली भट्टले २५, कविता कुँवरले २३, रुबिना क्षेत्री बेल्बासेले २० रन बनाउँदा सिता रानामगर ६ र कविता जोशी २ रनमा आउट भए ।
यससँगै तेस्रो पटक एसिया कप खेल्ने नेपालको सपना पनि समाप्त भएको छ । जितको लागि ११६ रनको बलियो विजयी लक्ष्य पछ्याएको मलेसियाले १९,५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । मलेसियाको जितमा एल्सा हन्टरले ५३ बलमा ६ चौकासहित ६९ रनको अविजित इनिङ खेल्दै टोलीलाई जिताइन् ।
मलेसियालाई अन्तिम ६ बलमा ११ रन जितको लागि चाहिएको थियो । पहिलो बलमा हन्टरले कविता कुँवरलाई चौका प्रहार गरेपछि बाँकी ५ बलमा ७ रन चाहिएको थियो ।
दोस्रो बल अफ साइडमा डट राखिन् । तेस्रो बलमा चौका हानेपछि तीन बलमा तीन रन चाहिएको थियो । चौथो बलमा स्टेटमा दुई रन प्रहार गरिन् ।
पराजित भएसँगै नेपालले एसिया कप टी(२० क्रिकेट प्रतियोगिता पनि खेल्न नपाउने भएको छ। यसै वर्ष हुने महिला एसिया कपमा प्रिमियर कपको फाइनलमा पुगेका दुई टोलीसँगै भारत, पाकिस्तान, बंगलादेश र श्रीलंका हुनेछन् ।
उपाधिका लागि मलेसियाले युएईको सामना गर्नेछ। शुक्रबारै भएको पहिलो सेमिफाइनलमा थाइल्याण्डलाई ४ रनले हराउँदै युएई फाइनलमा पुगेको हो।
प्रतियोगिताको फाइनल खेल आइतबार हुनेछ।
कोहलपुर खबर । ४ फाल्गुन २०८०, शुक्रबार १४:४३