काम गर्न नसके ठाउँ छोड्न प्रधानमन्त्री प्रचण्डको आग्रह

उद्योग र यातायात मन्त्रालयलाई प्रधानमन्त्रीले दिए १० बुँदे निर्देशन

१२ पुष काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनताको आशा बचाउन सरकारले गम्भीर रुपमा काम गर्नुपर्नेमा जोड दिँदै काम गर्न नसके ठाउँ ओगटिरहन जरुरी नभएको बताएका छन् ।

आज बिहीवार दिउँसो सिंहदरबारमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले भने‚ ‘जनताको आशा बचाउन पनि हामीले गम्भीर रूपमा काम गर्नुपर्छ। यतातर्फ गम्भीरतापूर्वक सोच्नुहोला । हामीले काम गर्न सक्दैनौँ भने ठाउँ ओगटिरहन जरूरी छैन, यसमा प्रष्ट हुनुहोला ।

छलफलमा प्रधानमन्त्री प्रचण्डले स्मार्टकार्ड छपाइ र वितरण प्रभावकारी बनाउन निर्देशन दिएका छन् । उनले सवारीचालक अनुमति पत्र समयमै सेवाग्राहीले नपाएको गुनासो आएको भन्दै जतिसक्दो चाँडो उपलब्ध गराउन निर्देशन दिएका हुन् ।

नीति‚ कार्यक्रम र बजेट निर्माण प्रक्रियामा गुणात्मक परिवर्तन गर्ने भन्दै प्रधानमन्त्री प्रचण्डले योजना आयोग र अर्थ मन्त्रालयलाई पनि यो कुरा मनन गर्न भनेका छन् ।

त्यसपछि उनले युवाहरूका निम्ति स्टार्टअप बिजनेसलाई उच्च प्राथमिकता दिएर काम गर्न उद्योग‚ वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएका छन् । उनले मन्त्रालयगत छलफलमा उद्योग‚ वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई १० बुँदे निर्देशन पनि दिएका छन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँगको मन्त्रालयगत छलफलमा उनले ​स्टार्टअप फन्डसमेत परिचालन गरी वर्षेनि कम्तिमा २० हजार युवाहरूको नवीनतम सोचलाई वस्तु र सेवा उत्पादनमा जोड्ने तथा स्वरोजगारी, स्टार्टअप र विभिन्न व्यवसायले सिर्जना गर्ने रोजगारी मापनका लागि ‘जब मिटर’ को व्यवस्था गर्न विशेष योजना तयार गर्न मन्त्रालयलाई निर्देशन दिए ।

प्रधानमन्त्री प्रचण्डले सरकारका कूटनीतिक निकायलाई उद्योग तथा वाणिज्य प्रवर्द्धनमा केन्द्रित हुनुपर्नेमा जोड दिँदै त्यसका लागि आवश्यक योजना, संयन्त्र र कार्यक्रम बनाएर अगाडि बढ्न निर्देशन दिएका हुन् ।

बैठकमा उद्योग‚ वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उद्योग तथा वाणिज्य प्रवर्द्धनका लागि विनियोजित रकम थोरै हुँदा निर्धारित कार्यक्रम सञ्चालन गर्न बाधा पुगेको भन्दै त्यसका लागि सरकारकै तर्फबाट एकीकृत समाधान खोजिनुपर्ने बताएका थिए ।