२ पुस, कोहलपुर । कोहलपुर नगरपालिका वडा नम्बर २ मा एक महिने मुढा बनाउने तालिम सुरु भएको छ । वडा नम्बर २ को आर्थिक सहयोगमा महिलाहरुका लागि एक महिने मुढा बनाउने तालिम सुरु भएको हो । तालिमको एक कार्यक्रमका बीच कोहलपुर नगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष हरी कठायतले उद्घाटन गरे । उक्त अवसरमा बोल्दै वडाअध्यक्ष कठायतले वडा सरकारबाट पहिलोपटक आवश्यकतामा आधारित भएर सीपमुलक तालिम सञ्चालन गरिएको बताए ।
उनका अनुसार वडा नम्बर २ का महिलाहरुलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको हो । तालिममा सधै घरायसी काममा मात्रै व्यस्त हुने महिलाहरुलाई जिविकोपार्जनमा सहज हुने उनले बताए । वडा नम्बर २ मा रहेका विभिन्न टोलमा गएर महिलाहरुको मागको आधारमा तालिम दिन सिप सिकाउन सुरु गरिएको उनको भनाइ छ ।
‘हामीले पहिलोपटक वडाको बजेटमा महिलाहरुलाई तालिम प्रदान गरेका छौँ । तालिम उपयोगी हुने वडा सरकारको विस्वास रहेको छ,’ उनले भने, ‘एक महिनामा सिकेका सीपको सही सदुपयोग गर्न अनुरोध गर्दछु । भोलीका दिनमा तपाईहरुका उत्पादन बजारीकरणमा पनि हामी सहयोग गर्नेछौ ।’
तालिम पश्चात महिलाहरुले मुढा बनाएर बजारीकरणका साथै वडा कार्यालयलाई समेत प्लाष्टिक कुर्सी मुक्त बनाउने आफ्नो योजना रहेको वडा अध्यक्ष कठायतले बताएका थिए । तालिममा सहभागी महिलाहरुलाई सक्रिय रुपमा सहभागी भएर सीप सिकेर आत्मनिर्भर बन्न पनि उनले आग्रह गरेका छन् । महिलाहरुले उत्पादन गरेका मुढा बजारीकरणमा समस्या नहुने भन्दै उनले ढुक्कले तालिम सिक्न र उत्पादनमा ध्यान दिन पनि आग्रह गरेका हुन् ।
तालिमको उद्घाटन सत्रमा बोल्दै तालिम आयोजक कविराज फाउण्डेसन नेपाल कोहलपुर– शक्तिनगरका अध्यक्ष मानबहादुर शाहीले वडा नम्बर २ मा पहिलोपटक वडा सरकारको सहयोगमा सीपमुलक तालिम सुरु गरिएको बताए । उनका अनुसार तालिम एक महिनासम्म सञ्चालन हुनेछ । दक्ष प्रशिक्षकबाट तालिम सञ्चालन हुने उनको भनाइ छ । महिलाहरुलाई ज्ञान र सीप सिकाएर आत्मनिर्भर बनाउने तालिमको मुख्य उद्देश्य रहेको अध्यक्ष शाहीले बताए ।
तालिम पश्चात महिलाहरु आत्मनिर्भर बन्ने र त्यही सीपका माध्यमबाट महिलाहरुको जिविकोपार्जनमा समेत तालिमले भूमिका खेल्ने उनको भनाइ रहेको थियो । यस्तै महिलाहरुले बनाएका मुढा बजारीकरणका लागि वडा सरकार र सरोकारवाला निकायसँग फाउण्डेसनले सहयोग गर्ने उनले प्रतिबद्धता व्यक्त गरेका छन् । उक्त तालिमको प्रशिक्षकहरुको रुपमा रामसिंह विक रहेका छन् । तालिममा कोहलपुर नगरपालिका वडा नम्बर २ मा रहेका विभिन्न टोलका २० जना महिलाहरुको सहभागिता रहेको छ । तालिम एक महिनासम्म सञ्चालन हुनेछ । तालिम सञ्चालनका लागि वडा नम्बर २ को कार्यालयले २ लाख ७५ हजार रुपैयाँ लगानी गरेको छ । वडा कार्यालयको आर्थिक सहयोग र फाउण्डेसनको आयोजनामा महिला उद्यमी सीपमुलक तालिम सुरु गरिएको हो ।
कोहलपुर खबर । २ पुष २०८०, सोमबार १३:१४