२१ कार्तिक, कोहलपुर । जाजरकोट र रुकुम(पश्चिम)का भूकम्प पीडितका लागि बाँकेको बैजनाथ गाउँपालिकाले राहत सामाग्री उपलब्ध गराएको छ ।
गाउँपालिकाले तत्कालका लागि २ लाख ५० हजार बराबरको राहत सामाग्री जिल्ला विपद ब्यवस्थापन समिति बाँकेलाई हस्तान्तरण गरेको हो । राहत सामाग्रीहरुमा २५ थान ठुलो साईजको त्रिपाल र १ सय थान ब्ल्यांकेट रहेको छ । विपद ब्यवस्थापन समितिका संयोजक एवम् बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेललाई बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाही, उपाध्यक्ष निर्मला रोकाय र सूचना अधिकारी तप्तराज आचार्यले हस्तान्तरण गरेका हुन् ।
नेपालगन्ज विमानस्थल परिसरमा स्थापना गरिएको अस्थायी गोदाम घरमा उक्त राहत सामाग्री राखिएको छ । राहत सामाग्री हस्तान्तरण गरिसकेपछि अध्यक्ष शाहीले भूकम्पले जनताको ठुलो जनधनको क्षति भएकाले मानवीय धर्म अनुसार बैजनाथले तत्कालका लागि त्रिपाल र ब्ल्यांकेट सहयोग गरेको बताए ।
‘तत्काललाई आकाश मुनि बस्नु भएका, तत्काल भौतिक संरचना बनाउन नसकिने अवस्थामा उहाँहरुलाई त्रिपाल र ब्ल्यांकेट आवश्यकता पर्छ, त्यसमा प्याकेज बनाएर कार्पेट, कम्बल, सामान्य खाद्यान्न सबै मिक्स गरेर कम्तिमा एक महिनासम्म पुग्ने गरेर पठाउनुपर्छ भनेर सोही अनुसार हामीले ब्ल्यांकेट र त्रिपाल उपलब्ध गराएका छौं,’ अध्यक्ष शाहीले भने । आगामी दिनमा औषधी प्याकेज बनाएर सहयोग गर्ने पनि अध्यक्ष शाहीले बताए ।
बाँकेका प्रमुख जिल्ला अधिकारी पोखरेलले पहिलो चरणमा घाइतेको उपचार सफलता पूर्वक गरिएको र अब दोस्रो चरणमा राहत संकलन गरेर पठाउने काम सुरु भएको बताए । प्रमुख जिल्ला अधिकारी पोखरेलका अनुसार राहत सामाग्री हस्तान्तरण गर्नेमा बैजनाथ गाउँपालिका जिल्लाकै पहिलो गाउँपालिका भएको छ ।
कोहलपुर खबर । २१ कार्तिक २०८०, मंगलवार ०८:४३