१८ कार्तिक, कोहलपुर । जाजरकोटको बारेकोट रामिडाँडालाई केन्द्रविन्दु बनाएर गएको गएरातिको भूकम्पबाट जाजरकोट र रुकुमपश्चिममा ज्यान गुमाउनेको संख्या ११९ पुगेको छ।
भूकम्पले जाजरकोटमा मात्रै ९२ जनाको मृत्यु भएको छ। यहाँ अहिलेसम्ममा नलगाढ नगरपालिकामा सबैभन्दा ठूलो मानवीय क्षति भएको पाइएको छ । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी हरिश्चन्द्र शर्माले जिल्लामा ज्यान गुमाउनेमध्ये ४७ जना नलगाढको रहेको जानकारी दिए । नलगाड भूकम्पको केन्द्रविन्दु बारेकोटको छिमेकी पालिका हो ।
भूकम्पपमा परी नलगाडकी उपप्रमुख सरिता सिंहको समेत मृत्यु भएको छ । यस्तै रुकुमपश्चिममा २७ जनाको मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बडुवालले जानकारी दिए ।
आठबीस नगरपालिकामा १७ र सानीभेरी गाउँपालिकामा ९ जनाको मृत्यु भएको उनले बताए । शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टरस्केलको भूकम्प गएको थियो ।
कोहलपुर खबर । १८ कार्तिक २०८०, शनिबार ०८:३५