१३ कार्तिक, कोहलपुर । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेस सोमबार नेपाली सेनाको हेलिकप्टरमार्फत् पोखरा आइपुगेका छन्।
पोखराको विमानस्थलमा ओर्लिएका गुटरेसलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरका मेयर धनराज आचार्य लगायतले स्वागत गरेका थिए।
विमानस्थलबाट गुटरेस बस्नका लागि फेवाताल पारी रहेको फिस्टेल लज गएका छन् । उनी मंगलबार बिहानै नेपाली सेनाको हेलिकप्टरमार्फत् ४ हजार १ सय ३० मिटर उचाइमा रहेको अन्नपूर्ण बेस क्याम्प जाने कार्यक्रम छ ।
जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारेका असरबारे बुझ्न उनी बेस क्याम्प जाने तयारी रहेको छ । अन्नपूर्ण आधार शिविरमा उनले स्थानीय समुदायले जलवायु परिवर्तनका कारण भोग्नुपरेका समस्याबारे जानकारी लिने र सम्बोधन गर्ने कार्यक्रम समेत तय भएको छ। बेस क्याम्पबाट फर्किएपछि गुटरेस मंगलबार नै लुम्बिनी प्रस्थान गर्नेछन् ।
कोहलपुर खबर । १३ कार्तिक २०८०, सोमबार १६:२७