नेपालगञ्जमा आज पनि निषेधाज्ञा कायमै बन्दै


१९ असोज,कोहलपुर । बाँकेको नेपालगञ्जमा उपमहानगर क्षेत्रभित्र आज पनि निषेधाज्ञा कायमै छ । जिल्ला प्रशासन कार्यालय बाँकेले आज विहान सुचना निकालेर सम्भावित जोखिमलाई मध्यनगर गर्दै आज बिहान ६ बजेदेखि राति ८ बजेसम्म निषेधाज्ञा जारी गरेको हो । हिजोदेखि दिउँसोको समयमा भने कर्फ्यु हटाइएको थियो ।

कर्फ्यु आंशिक हटेसँगै बाँकेको नेपालगञ्जको अवस्था सामान्य बन्दै गएको छ । नेपालगञ्जमा चहलपहल बढेको छ । पसल, विद्यालय खुलेका छन् ।नेपालगञ्ज उपमहानगर (पूर्वमा राप्ती नदी पुल, पश्चिममा खजुरा रोडको इन्द्रपुर जाने बाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाहा सीमा नाका) का चार किल्लाभित्र कुनै प्रकारको भेला, जुलुस, सभा, बैठक वा प्रदर्शन वा पोस्टर, पर्चाजस्ता प्रचार सामग्री टाँस्न वा लेख्न नपाइने तथा हुलदङ्गा, अशान्ति गर्ने उद्देश्यले एकै ठाउँमा पाँच जनाभन्दा धेरै मानिस जम्मा हुन नपाउने जनाएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यद्वारा जारी गरिएको आदेशमा सामाजिक सञ्जालमा लेखिएको विषयलाई लिएर उत्पन्न विवादका कारण शुक्रबार बिहान ६ बजेदेखि राति ८ बजेसम्म नेपालगन्ज उपमहानगरपालिका क्षेत्रभित्र निषेधाज्ञा जारी गरिएको सूचनामा उल्लेख छ।