कालोपत्रे सडक तीन महिनामै भत्कियो र हिलाम्मे

९ असोज,भोजपुर । भोजपुरमा कालोपत्र भएको तीन महिनामै सडक भत्किएपछि यहाँका स्थानीय आक्रोशित भएका छन्।

सडक भत्किएर आवतजावतमा समस्या भएपछि स्थानीय आक्रोशित भएका हुन्। बोखिम–पिप्ले–खाल्डे–आहाले–दधिपुर–सल्लेनी सडक खण्डको साढे चार किलोमिटर सडक रौताहा–रामसागर बिल्डर्स जेभीले कालोपत्र गरेको हो। छोटो समयमा सडक भत्किएपछि निर्माणको काम गुणस्तरहीन भएको भन्दै स्थानीयले आवाज उठाएका छन्। ठेकेदार राम पौडेलले काममा लापरबाही गरेको स्थानीयको भनाइ छ । छोटो समयमा सडक भत्किएपछि निर्माणको काम गुणस्तरहिन भएको भन्दै स्थानीयले आवाज उठाएका छन्।

ठेकेदार राम पौडलेले काममा लापारबाही गरेको स्थानीयको भनाइ छ। स्थानीयले गुणस्तरहिन काम गर्ने ठेकेदारलाई कारबाहीको मागसमेत गरेका छन्।

अनुगमनका क्रममा सडक मापदण्डअनुसार निर्माण भएको नपाइएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले बताए। छोटो समयमा सडक भत्किएर, खाल्डाखुल्डी परेकाले निर्माणका क्रममा लापरबाही देखिएको उनको भनाइ छ।

“स्थानीयको गुनासो बढेपछि हामीले स्थलगत अनुगमन गरेका छौँ”, प्रजिअ घिमिरेले भन्नुभयो, “सडक कालोपत्र भएको छोटो समयमा नै भत्किएको अवस्था छ, सडक तोकिएको मापदण्डअनुसार बनेको छैन, सडकको अवस्थाका बारेमा मैले सडक हेर्ने कार्यालयलाई जानकारी गराएको छु।”

यो सडक ग्रामिण सडक सञ्जाल सुधार आयोजना कार्यान्वयन एकाइ झापाअन्तर्गत नेपाल सरकारको भ्याटसहित साढे १० करोडमा निर्माण भएको कार्यान्वयन एकाइका कामु आयोजना व्यवस्थापक विरबहादुर रावलले जानकारी दिए। यो सडक विग्रिएको खण्डमा एक वर्षसम्म ठेकेदारले मर्मत गर्नुपर्ने उनको भनाइ छ।

सडकलाई तत्काल मर्मत गर्नका लागि पत्राचार गर्ने उनले जानकारी दिए। “सडक भत्किएको विषयमा हामीलाई पनि जानकारी आएको छ”, उनले भने, “एक वर्षसम्म सडकको मर्मत सम्भारको जिम्मा ठेकेदारलाई हुन्छ, त्यहाँ भएका त्रुटिलाई सच्याएर पुनः मर्मतका लागि ठेकेदारलाई पत्राचार गर्छौँ।”

सडकलाई तत्काल मर्मत गर्नका लागि पत्रचार गर्ने उनले बताए। सडकमा बिच्छ्याइएको सव(बेसमा गुणस्तरहिन सामग्री प्रयोग गरेर कालोपत्र गरेको स्थानीयको आरोप छ। समस्याको समाधानमा लाग्नुभन्दा पनि निर्माण कम्पनीका प्रतिनिधि सम्पर्कविहीन बन्ने गरेको स्थानीयको भनाइ छ।