२४ असार लुम्बिनी प्रदेश,
लुम्बिनी प्रदेशका सबै जिल्लाहरूम कारागारको क्षमताभन्दा बढी कैदीबन्दी रहेका छन् ।
सबै भन्दा बढि बलात्कार मुद्दाका कैदीको संख्या सर्वाधिक रहेको कारागार प्रशासनले जनाएको छ । २५ जना क्षमताको गुल्मी जिल्ला कारागारमा ७३ कैदीबन्दी रहेका छन् । कारागार शाखा प्रमुख अर्जुन बहादुर थापाका अनुसार बलात्कार मुद्दाका कैदी र थुनुवाको संख्या मात्रै ३७ रहेको छ ।
रुपन्देही जिल्ला कारागार शाखा प्रमुख जगत बहादुर बस्नेतका अनुसार त्यहाँ कुल कैदीबन्दीको संख्या ४५६ छ । त्यसमध्ये पनि थुनुवा ३०३ जना र १५३ जना कैदी छन् । तीमध्ये १११ जना जबरजस्ती करणी सम्बन्धी मुद्दाका छन् । सो कारागारमा १५० जना कैदीबन्दी राख्ने क्षमता छ ।
नवलपरासी ९पश्चिम० का कारागार प्रमुख पुनाराम पौड्यालका अनुसार नवलपरासी पूर्व र नवलपरासी पश्चिमका कैदीबन्दीलाई एकै ठाउँ राख्ने गरिएको छ । जिल्ला कारागारमा ५०६ जना कैदीबन्दी छन्, जसमध्ये ११९ जना जबरजस्ती करणी सम्बन्धी मुद्दाका छन् ।
कारागारको कुल क्षमता ३५० जना रहे पनि ५ सयजना भन्दा बढी कैदीबन्दी राखिएको पौड्यालले जनाए । पाल्पा जिल्ला कारागारका प्रमुख ठाकुर प्रसाद अर्यालका अनुसार कुल कैदीबन्दी संख्या २७६ मध्ये ११४ जना जबरजस्ती करणी सम्बन्धी मुद्दाका छन् ।
अर्घाखाँची कारागार शाखा प्रमुख रचना बुढाका अनुसार त्यहाँ कुल कैदीबन्दी ५७ जनामध्ये १८ जना जबरजस्ती करणी सम्बन्धी मुद्दाका छन् । सो कारागारको क्षमता २५ जनामात्र हो । यस्तै, कपिलवस्तु कारागार शाखा प्रमुख मनोज कुमार सैनीका अनुसार त्यहाँ कुल ४२१ जना कैदी छन् । जसमध्ये १२२ जना जबरजस्ती करणी मुद्दाका कैदीबन्दी छन् । सो कारागारको क्षमता ३५० जना हो ।
प्युठान कारागार शाखा प्रमुख सुर्यबहादुर पन्थका अनुसार त्यहाँ ७१ जना कुल कैदीबन्दीमध्ये जवरजस्ती करणी उद्योगका ४० जना छन् । जबकि कारागारको कुल क्षमता २५ जनाको हो । दाङ जिल्लामा दुई स्थानमा कारागार छन् । घोराही कारागार शाखा प्रमुख वासुदेव खनालका अनुसार कुल कैदीबन्दी २८५ मध्ये जबरजस्ती करणी मुद्दाका ८१ जना छन् ।
तुल्सीपुर शाखा प्रमुख अमर वलीका अनुसार त्यस कारागारमा कुल ५०५ जना कैदी छन् । जसमध्ये २०१ जना जबरजस्ती करणी मुद्दाका छन् । रुकुम ९पश्चिम० कारागार शाखा प्रमुख अकवीर घर्तीका अनुसार रुकुम पूर्व र रुकुम पश्चिमको एउटै कारागार छ । जहाँ कुल कैदीबन्दी १०७ जना छन् । तीमध्ये २८ जना बलात्कार मुद्दाका कैदीबन्दी छन् ।
रोल्पा कारागार शाखा प्रमुख विशाल खनालका अनुसार त्यहाँ कुल कैदीबन्दी संख्या ११२ जनामध्ये जबरजस्ती करणीसम्बन्धी मुद्दाका ३९ जना छन् । बर्दिया कारागार शाखा प्रमुख विजय कुमार मल्लका अनुसार कुल कैदीबन्दी ४३२ मध्ये १४१ जना जबरजस्ती करणी सम्बन्धी मुद्दाका छन् ।
बाँके जिल्ला कारागार प्रमुख रामकुमार शंकरका अनुसार ३५० क्षमताको कारागारमा ४५६ जना कैदीबन्दी छन् । तीमध्ये जबरजस्ती करणी मुद्दाका ११४ जना छन् । अधिवक्ता प्रेमनारायण आचार्यका अनुसार पछिल्लो समय जबरजस्ती करणीसम्बन्धी मुद्दाको संख्या बढ्दो छ । मुलुकी अपराध संहिता २०७४ लागु भएपछि जबरजस्ती करणी सम्बन्धी मुद्दाको चाप बढेको उनको भनाइ छ । ratopati
कोहलपुर खबर । २४ असार २०७९, शुक्रबार १८:५६