अतिक्रमित संरचना हटाउँदै कोहलपुर

विकल्प विना संरचना हटाउन खोजेको भन्दै नेकपा माओवादी केन्द्रको असहमति

४ भदौ, कोहलपुर । कोहलपुर नगरपालिकाले नगर क्षेत्रको अतिक्रमित संरचना हटाउने भएको छ । लामो समयदेखि नगरपालिका र नगर विकास समितिको स्वामित्वमा रहेको जग्गामा निर्माण गरिएका संरचना हटाउने भएको हो । नगरपालिकाको आयोजनामा कोहलपुर नगर विकास समितिको अतिक्रमित जग्गा सम्बन्धि बसेको सर्वपक्षीय,सर्वदलीय बैठकले कोहलपुर नगरपलिका क्षेत्रमा अतिक्रमित संरचना हटाउने निर्णय गरेको हो ।

कोहलपुर नगर विकास समितिको तेस्रो चरण क्षेत्र अन्तर्गतको कोहलपुर ३ (ख) को ३६ विगाह क्षेत्रफल मध्ये दुई दशकदेखि विभिन्न स्थानमा नगर विकासको जग्गा अतिक्रमणको चपेटामा छ । सबै भन्दा धेरै कोहलपुर नगरपालिका वडा नम्बर ११ स्थित क्रिकेट मैदान क्षेत्रको जग्गामा पक्की संरचना समेत निर्माण गरिएको छ । यति मात्रै नभई त्यस क्षेत्रमा नक्कली सुकुम्बासीहरुको नाममा भु–माफियाहरुले अनधिकृत रुपमा जग्गा किनबेच समेत गरिरहेका छन् ।

वर्षौदेखि त्यस क्षेत्रमा विभिन्न जिल्लाबाट आएकाहरुले पक्की घर बनाएर नगर विकास समितिको जग्गा अतिक्रमण गरेका छन् । अनधिकृत रुपमा जग्गा अतिक्रमण गरी केही व्यक्तिहरुले आफू खुुसी संरचना निर्माण गरी प्रयोग गरिरहेको कोहलपुर नगरपालिकाको दाबी छ । सो क्षेत्रमा निर्माण गरिएका संरचना खाली गर्न नगर विकास समितिले बारम्बार सूचना जारी गर्ने गरेको छ । तर, त्यहाँ बसोबास गरिरहेकाहरुले संरचना हटाउन अटेरी गर्दै आएका छन् । संरचना भत्काउने विषयमा कोहलपुर नगर विकास समितिको आयोजनामा कोहलपुर नगर विकास समितिको अतिक्रमित जग्गा सम्बन्धि सर्वपक्षीय,सर्वदलीय बैठकले दुई बुँदे निर्णय गरेको छ ।

कोहलपुर नगरपालिकाका प्रमुख तथा नगर विकास समितिका अध्यक्ष पूर्ण प्रसाद आचार्यका अनुसार २०७५ पुस २०,२०७६ पुष २४ र २०७९ भाद्र २३ गते बसेको नगर विकास समितिको बोर्ड बैठकबाट सो संरचनाहरु हटाउने निर्णय भइसकेको छ । यस्तै पटक पटक ३५ दिने सूचना जारी गर्दासमेत अटेर गरी बसिरहेको भन्दै अब प्रचलित कानुनको अधिनमा रहेर ती संरचना भत्काउने निर्णयमा पुगेको हो ।

नगर प्रमुखको अध्यक्षतामा नगर क्षेत्रमा क्रियाशील राजनीतिक दल सम्मिलित कार्यान्वयन समिति गठन गरिएको छ । निर्णय नम्बर १ मा उल्लेख गरिएका क्षेत्रमा केही वर्षदेखि अनधिकृत रुपमा सरकारी जग्गा किनबेच हुने गरेको भन्ने समेत सुन्नमा आएकोले सो विषयमा छानविन गरी गर्ने निर्णय समेत भएको नगर प्रमुख अचार्यले बताए ।

उक्त अवसरमा बोल्दै प्रतिनिधि सभा सदस्य सूर्यप्रसाद ढकालले अतिक्रमित संचरना भत्काउनु पर्नेमा जोड दिएका छन् । उनका अनुसार सरकारी स्वामित्वमा रहेका जग्गामा निजी संरचना बनाउन पाइदैन । नेपाली कांग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेलले पनि वर्षौदेखि अतिक्रमित संरचना हटाउनै पर्नेमा जोड दिए । उनले नगरपालिकाले लिएको पहलमा सबै दलले साथ दिनुपर्ने बताएका थिए ।

विकल्प विना हटाउन लागेको भन्दै नेकपा माओवादी केन्द्रले भने निर्णय प्रक्रियामा असहमति जनाएको छ । छलफलमा विभिन्न ३१ जना प्रतिनिधिले आफ्ना धारणा राखेका थिए । छलफलमा भाग लिएका मध्ये अधिकांशले अतिक्रमण हटाउनुपर्नेमा जोड दिएका छन् । छलफलमा बाँके क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका सदस्य सूर्यप्रसाद ढकाल, प्रदेश सभा सदस्यहरु र राजनीतिक दलका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।