नेपालगन्जमा पहिलो पटक घुँडा जोर्नीको सफल प्रत्यारोपण

२१ असार, नेपालगन्ज / नेपालगन्जमा पहिलो पटक घुँडा जोर्नीको प्रत्यारोपण सफलतापूर्वक गरिएको छ ।

नेपालगन्ज चार बाहिनी रोडस्थित हेल्थ केयर अस्पतालमा बरिष्ठ अर्थोपेडिक सर्जन डा. तिर्थेन्द्र खड्का नेतृत्वको टीमले मंगलवार विहान कोहलपुर नगरपालिका–१४ हवलदारपुर बाँकेका ६७ वर्षीय लालबहादुर थापाको दाहिने घुँडाको पूर्ण जोर्नी प्रत्यारोपण सफलतापूर्वक गरेको हो ।

थापा लामो समयदेखि जोर्नी खिइने रोग (अस्टिओआर्थाइटिस) बाट पीडित थिए । उनको घुँडामा धेरै दुखाई हुने र जोर्नी बाङ्गो भएर हिडडुल गर्न समस्या भएपछि उपचारका लागि डा.खड्काको सम्पर्कमा पुगेका थिए ।

उनको अन्तिम अवस्थाको जोर्नीको समस्या भएकाले पूर्ण जोर्नी प्रत्यारोपण गर्न सुझाव दिएको भेरी अस्पतालका अर्थोपेडिक विभाग प्रमुख समेत रहेका डा. खड्काले बताए । बेलायतको लण्डनस्थित प्रसिद्ध वार्टफोर्ड अस्पताल तथा काठमाडौंस्थित सिभिल अस्पतालबाट जोर्नी प्रत्यारोपणमा उच्च स्तरीय तालिम लिएका डा. खड्काले थापाको प्रत्यारोपण आफ्नै नेतृत्वमा गर्ने निष्कर्षमा पुगे ।

हेल्थ केयर अस्पतालका निर्देशक डा. कुमार शान शाह र प्रवन्ध निर्देशक रमेश सिटौलासँगको समन्वयमा प्रत्यारोपण अझ सहज भएको डा. खड्काले बताए । खड्काको नेतृत्वमा अर्थोपेडिक सर्जनहरु डा. ऋषि विष्ट, डा. प्रकाश थापा डा. राहुल मिश्र तथा एनेस्थेसियोलोजिष्ट डा.पारश पाण्डे लगाययतको टीमले करिव साढे दुई घण्टा लगाएर थापाको घुँडाको पूर्ण जोर्नी प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेको हो ।

अर्थोपेडिक सर्जन डा.खड्काले पश्चिम नेपालका करिव पाँच सय बढी बिरामीको हिप जोर्नीको आंशिक तथा पूर्ण प्रत्यारोपण तथा घुँडाको लिगामेन्टको पुनःनिर्माण गरिसकेका छन ।

यस प्रकारको अत्याधुनिक तथा जटिल शल्यक्रिको विकासले पश्चिम नेपालका विरामीलाई उपचारका लागि काठमाडौं वा भारतका विभिन्न ठाउँमा भौतारिनु पर्ने अवस्थाको अन्त्य भएको डा. खड्काले बताए ।