विष खुवाएर छोरीलाई मार्ने महिलालाई तीन वर्ष कैद

१८ साउन, तनहुँ । जिल्ला अदालत तनहुँले छोरीलाई विष खुवाइ हत्या गरेको अभियोगमा एक महिलालाई तीन वर्ष कैद फैसला सुनाएको छ ।

जिल्ला न्यायाधीश हरिश्चन्द्र ढुङ्गानाको बुधबारको इजलासले पोखरा महानगरपालिका–२४ कास्कीकोटकी २९ वर्षीया सुष्मा विकलाई तीन वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना सजाय सुनाएको अदालतका इजलास अधिकृत कृष्ण गौतमले जानकारी दिए।

सुष्माले २०७७ माघ १९ गते दिउँसो तनहुँको आँबुखैरेनी गाउँपालिका–२ खानीखोलास्थित न्यू लिगलिग प्यालेस एण्ड लजमा बस्ने क्रममा छोरीलाई खुवाएर आफूले पनि विष सेवन गरेकी थिइन्। तर होटल सञ्चालकले भेटेर दुवैलाई तत्काल उपचारका लागि चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा लगेका थिए । उपचारका क्रममा छोरी कुसुमको सोही दिन मृत्यु भएको थियो। सुष्मा भने उपचारपश्चात् निको भइन्।

सुष्मालाई प्रहरीले २०७८ साउन ३० गते पक्राउ गरेको थियो । उनीविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले २०७८ भदौ १६ गते जिल्ला अदालतमा कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गरेको थियो । सुष्मा भदौ १८ गतेदेखि तनहुँ जिल्ला कारागारमा पुर्पक्षका लागि थुनामा थिइन्। घटनापछि सुष्माका पति मनोज विकले २०७७ माघ २५ गते सुष्माविरुद्ध जाहेरी दिएका थिए। घटना हुँदा मनोज वैदेशिक रोजगारीको क्रममा मलेसियामा रहेका थिए।