१४ असार ,नेपालगन्ज । आज मुस्लिम धर्मावलम्बीको दोस्रो ठूलो चाड बकर इद (इदु उल अजहा) देशभरि मनाइँदैछ इदुल फित्र अर्थात् रमजानको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ ।
मुस्लिम धर्मावलम्बीले बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गएर सामूहिक नमाज पढ्छन् । आज नेपालगन्ज विपी चोकस्थित इस्लाम धर्मावलम्बीले विहान इदगाहमा सामूहिक नमाज पढेर एक आपसमा अंकमाल गरी शुभकामना आदानप्रदान गरेका छन् । आजको दिन अल्लालाई खुसी पार्न मुसलमानले धर्मले जायज मानेका जनावरलाई कुर्बानी (बली) दिने गर्दछन् ।
धार्मिक मान्यता अनुसार अल्लाका नवी (दूत) इब्राहिम अलि सलामले ९० वर्षको उमेरमा पत्नी हाजराबाट प्राप्त गरेको सन्तान छोरा इस्माईललाई कुर्बानी गर्नुपर्ने आदेशलाई पालना गर्दा अल्लाह प्रशन्न भएर इस्माईलको कुर्बानी नभएर स्वर्ग (जनन्त) मा पालिएका दुम्बाको कुर्बानी भएको धार्मिक मान्यतालाई अहिलेसम्म कुर्बानी गर्ने प्रचलनलाई कायम राखेको पाइएको छ ।
कुर्बानीको मासु तीन भागमा बाँडी वितरण गरिन्छ । एक भाग गरिब एवं विपन्न परिवारलाई एक आफ्ना आफ्ना इष्टमित्रलाई र अर्को भाग आफू खानुपर्ने धार्मिक मान्यता छ ।
आज मस्जिदमा पूर्व मन्त्री मो. इस्तियाक राई, नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट, उपप्रमुख कमरुद्दिन राई लगायत पुगेका थिए ।
आज नेपालगन्जको विपी चोकस्थित इदगाहमा मान्छे नअटेपछि सडकमै बसेर समेत नमाज पढेका छन । अन्य समुदायका व्यक्तिहरुले पनि इदगाह पुगेर शुभकामना साटासाट गरेका छन् । उहाँका अनुसार बकर इदमा मक्का मदिना जानु शुभ मानिन्छ ।
मक्का मदिना जान नपाउने हजयात्रीले समेत घरघरमै बकर इद मनाउँछन् । सरकारले आज बकर इदका अवसरमा सार्वजनिक बिदा समेत दिएको छ ।
कोहलपुर खबर । १४ असार २०८०, बिहीबार १२:१४