देउवालाई कांग्रेसबाट मन्त्रीको टुंगो लगाउने जिम्मा

१६ चैत, काठमाडौं । नेपाली कांग्रेसले मन्त्रीको नाम टुंगो लगाउने जिम्मा सभापति शेरबहादुर देउवालाई जिम्मेवारी दिएको छ ।

बिहीबार बसेको कार्यसम्पादन समितिको बैठकले मन्त्रीको नाम टुंगो लगाउने जिम्मा सभापति देउवालाई दिएको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।

‘नामको विषयमा यहाँबाट टुंगो लगाइरहनु पर्दैन । तर, क्राइटएरियालाई मध्यनजर राखेर सभापतिज्यूले सबैसँग छलफल गर्नुभएको छ । यसैलाई मध्यनजर राखेर नै निर्णय हुन्छ,’ उनले भने ।

योगदान, दक्षता, समावेशीता र प्रादेशिक सन्तुलनलाई मध्यनजर गरेर मन्त्री छान्ने उनले बताए । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा कांग्रेसबाट ८ जना मन्त्री बन्दै छन् । उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा कांग्रेसले ८ जना मन्त्री पठाउने तयारी गरेको हो ।