२९ फागुन काठमाण्डौ। नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्ने भएका छन् ।
दिउँसो १ बजे राष्ट्रपति कार्यालयमा विशेष समारोहका बिच राष्ट्रपति पौडेलले शपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ। उक्त कार्यक्रम राष्ट्रपतिले आफ्नो कार्यभार सम्हाल्नुअघि सङ्घीय कानुन अनुसार प्रधानन्यायाधीश समक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था रहेको छ ।
नवनिर्वाचित राष्ट्रपति पौडललाई प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराउनुहुने छ । राष्ट्रपति पौडेलले शपथ लिएलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले आज शीतल निवास छाड्ने भएकी छन् ।
राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले नयाँ राष्ट्रपतिको शपथ ग्रहणपछि राष्ट्रपति भण्डारी निजी निवास सर्ने कार्यक्रम आफहरुले तय गरेको अधिकारीले बताउनुभएको हो ।
राष्ट्रपति भण्डारीले हिजो आफ्नो कार्यकालको अन्तिम दिन भएकोले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित प्रमुख राजनीतिक दलका प्रमुखहरूसँग राष्ट्रपति भण्डारीले सामूहिक भेटघाट गर्नुभएको थियो ।
भेटघाटमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठलगायत अन्य दलका शिर्ष नेताहरू सहभागी थिए ।
कोहलपुर खबर । २९ फाल्गुन २०७९, सोमबार १२:०६