पुष्पराज हमाल
२१ फागुन कोहलपुर। नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) बाँके च्याप्टरले रङ्गहरूको पर्व होलीलाई केही फरक र रोचक ढङ्गले गर्ने, ‘गोलभेँडाहरूको रङ्ग सँगै होली ‘गोलभेँडा उत्सव नेपाल–२०२३’ गर्ने भएको छ।
आयोजकका अनुसार यही फागुन २३ गतेका दिन कोहलपुर–११ चौराहामा बिहान ९ बजे देखी १० बजेसम्म गरिनेछ। होटल एशोसियशन अफ नेपाल बाँकेको सह–आयोजना तथा कोहलपुर नगरपालिकाको सहकार्यमा कार्यक्रम गरिने गर्न लागिएको आयोजक (नाट्टा) बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले जानकारी दिएका हुन्।
‘गोलभेँडा एउटा संरक्षित खाद्य वनस्पति हो, यो फललाई अत्यन्त स्वास्थ्यवर्द्धक, भिटामिन र मसलायुक्त फल मानिन्छ, आलु र सखरखण्ड पछि तेश्रोमा गोलभेँडा विश्वमा सबैभन्दा बढी उत्पादन हुने बताईन्छ, नेपालमा पनि विश्वका अरू देश सरह आलु जस्तै हरेक नेपालीको भान्छामा गोलभेँडा पुग्ने गर्दछ,’ सिग्देलले भने ‘पर्यटकीय दृष्टिकोणले गोलभेँडालाई लिएर विश्वका केही देश स्पेन, इटली र भारतका केही सहरमा पर्यटनसँग जोडेर गोलभेँडा पर्व मनाइने गरिन्छ।’
भाइचारा, सद्भाव र रङ्गहरूको पर्व होली जस्तै देखिने यस पर्व होली पर्वका अवसर पारेर स्थानीय किसानको उत्पादनको उच्च सम्मान गर्दै भोलिका दिनमा स्वदेशी तथा विदेशी पर्यटकलाई बाँके भित्र्याउन सहज हुने विश्वास गरिएको छ। यो कार्यक्रमलाई कोहलपुरमा स्थापित र यसको ब्राण्डिङ्ग गर्न सकेमा कोहलपुर, नेपालगन्ज मात्र नभई पश्चिम नेपाल पर्यटकका लागि कोहलपुर गन्तव्य बनाउन सकिने आयोजकले जनाएको छ।
कोहलपुर खबर । २१ फाल्गुन २०७९, आईतवार २२:५४