बाँके र बर्दियाका मनि ट्रान्फर एजेन्टहरु आन्दोलित

१९ फागुन, कोहलपुर । बाँके बर्दियाका मनि ट्रान्फर एजेन्टहरु आन्दोलित भएका छन । राज्यले गरेको नितिका कारण आफुहरु समस्यामा परेको भन्दै आन्दोलित भएका हुन । शुक्रबार कोहलपुरमा आयोजित पत्रकार सम्मेलन मार्फत बाँके र बर्दियाबाट आम नगरिकलाई गर्दै आएको सेवा एक हप्ताको लागि शनिबारदेखी बन्द गर्ने मनि ट्रान्सफर संघर्ष समितिले घोषणा गरेको छ ।

संघर्ष समितिका संयोजक राजेन्द्र कुमार श्रेष्ठले नेपालभित्र एक ठाँउबाट अर्को ठाँउमा रकम पठाउने तथा प्राप्त गर्ने ब्यवस्थामा राष्ट्र बैंकले अंकुश लगाउँदै एक दिनमा २५ हजारसम्म मात्र कारोबार गर्न सकिने तिनि ल्याएपछि आफुहरु आन्दोलनमा उत्रिएको बताए । सुरुवाती वर्षमा प्रतिब्यक्ति दिनहुँ ३ लाखबाट आन्तरीक विप्रेषण सेवा दिदैं आएका ट्रान्सफर एजेन्टहरुलाई क्रमशः २ लाख, १ लाख, ६० हजार, ५० हजार हुँदै पछिल्लो समय २५ हजारमा सिमित राख्ने गरी ल्याइएको नितिका कारण आफुहरुको ब्यवसाय धारासायी भएको भन्दै उनले आक्रोश ब्यक्त गरे ।

यहि फागुन ५ गतेदेखी राष्ट्र बैंकले नेपाल भित्र एक ठाँउदेखी अर्को ठाँउमा एक दिनमा २५ हजारसम्म मात्र पठाउन÷प्राप्त गर्न सकिने गरी डिजिटल प्रणाली लागु गरेको छ । डिजिटल प्राणालीका कारण सेवा प्रभाहमा समस्या आएको संघर्ष समितिको बुझाई छ । हुण्डी मार्फत दिनहुँ अबैधानिक रुपमा अरबौं रकम भित्रिरहेको अवस्थामा बैधानीक रुपमा राज्यलाई कर तिरेर संचालन भएका मनि ट्रान्फरलाई राज्यले अंकुश लगाउनु दुखद भएको श्रेष्ठले बताए ।

उद्योग वाणिज्य महासंघका उपाध्यक्ष मार्फत यहि फागुन १६ गते प्रधानमन्त्री तथा नेपाल राष्ट्र बैंकलाई आफुहरुको मागसहितको ज्ञापन पत्र बुझाई सकेको बताउँदै संयोजक श्रेष्ठले भने, “राष्ट्र बैंकको पछिल्लो नितिका कारण बैंकहरुले समेत दिन नसकेको सेवा दिईरहेका मनी ट्रान्सफर एजेन्सीहरु बन्द गर्नुपर्ने अवस्था आएको छ । राज्यले तत्काल यसका बारेमा सोच्न जरुरी छ ।”

बाँके र बर्दियामा मनी ट्रान्सफर एजेन्सीका ७० वटा काउन्टर बन्द रहने छन ।