१६ फाल्गुण , कोहलपुर / बाँकेको राप्ती सोनारीमा निर्माणाधिन हुलाकी लोकमार्गको अस्फाल्ट प्रबिधिबाट गरिएको सडक कालोपत्रे एक रातमै उप्किएको छ । खड्का कृष्ण कन्स्ट्क्सनले सुरु गरेको अस्फाल्ट पिच गुणस्तर हिन भएपछि एक रातमा उप्किएको हो । कम्पनीले सुरु गरेको पिच उप्किन थालेपछि स्थानीय बासिन्दाहरुले पिच गर्न रोकेका छन् ।
अस्फाल्ट प्रबिधिका सडकहरु उच्च भारबहन क्षमता, लामो अबधि टिकाउ हुने र सडक किनारबाट पानी नछिर्ने खालको भनिएपनि एक रातमै भत्किएको हो ।
सडक पिच गर्नका लागि आवश्यक सामाग्री अस्फाल्ट प्रविधि अर्थात मेसिनको सहायताले निर्माण गरी मेसिनकै सहायताले सडकमा बिछ्याएर पिच गरिएको भनिए पनि पिच गुणस्तर हिन भएको भन्दै स्थानीयले पुन पिच गर्नुपर्ने माग राख्दै पिचको काम रोकेका हुन । स्थानीय अगुवा ओपेन्द्र रावतले सरासर जनतालाई ठगेर गुणस्तर हिन पिचको सुरुवात गरेकोले आफुहरुले विरोध गरेको जनाए । निर्माणाधिन हुलाकी लोकमाग निर्माणको जिम्मा पाएको खड्का कृष्ण कन्स्ट्क्सनका सिएम अनिल कार्कीले अस्फाल्ट प्लान बाटै कमजोरी भएको भन्दै समस्या भएको स्थानमा पुन पिच गर्ने बताए ।
हुलाकी लोक मार्गका इन्जिनियर कृष्ण पाण्डेले पिचमा मापदण्ड नपुगेको स्वीकार गर्दै परिक्षणकै क्रममा रहेकोले कमजोरी भएको स्थानमा सच्याइने जनाए । उनले डष्टको मात्रा ३८ प्रतिशत पनि नपुगेको र अलकत्राको मात्रामा पनि कमि भएको उल्लेख गरे । उक्त निर्माण कम्पनीले राप्ती सोनारी ३ नारायणपुर चोक देखि राप्ती सोनारी ६ कुण्डा चोक सम्मको २१ किलोमिटर बाटो पिच गर्ने तयारीमा छ । सरकारी मापदण्ड अनुसार सडकको गुणस्तर कायम गर्न, छिटो र छरितो काम गर्न यो प्रविधि उत्तम रहेपनि एक रातमै पिच उप्किनुले शंका पैदा गरेको छ ।
कोहलपुर खबर । १६ फाल्गुन २०७९, मंगलवार १२:१६