फागुन, १० विराटनगर / प्रदेश १ का तीनवटा जिल्लामा सवारी दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।
झापा, मोरङ र सुनसरीको छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना हुँदा तीनजनाको मृत्यु र एकजना घाइते भएका हुन् ।
सुनसरीको इटहरी उपमहानगर-१० खनारस्थित दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को २ ह ६४३२ नम्बरको सिटी सफारी आफैँ अनियन्त्रित भई पल्टिदा घाइते भएका सिटीमा सवार इटहरी-१० का ४० वर्षीय सुरेन्द्र सरदारको उपचारका क्रममा विराट टिचिङ अस्पतालमा मंगलवार मृत्यु भएको हो ।
यसैगरी आज (बुधवार) मोरङको बेलबारी नगरपालिका-१ शिशौली चोकमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ५ ख ६९४२ नम्बरको बसले सोही दिशातर्फ आउँदै गरेका २ वटा साइकललाई ठक्कर दिँदा घाइते भएका साइकल यात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा बेलबारी-२ का १९ वर्षीय लेखनाथ चौहान रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उपचारका लागि उनलाई नोबेल अस्पताल विराटनगर पुर्याउन साथ मृत्यु भएको थियो ।
अर्का साइकल यात्री १८ वर्षीय राम बस्नेतको नोबेल अस्पतालमा उपचार भइरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ। यसैगरी बुधवार झापाको कनकाई नगरपालिका-१ दुर्गापुर चोकमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्र १-०१-०१६-३१५९ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको बा ४ ख ९३१९ नम्बरको निधि क्याम्पसको बसले ठक्कर दिँदा घाइते भएका मोटरसाइकल चालकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा ताप्लेजुङ श्रीजंघा गाउँपालिका-४ का ३५ वर्षीय समीर लिम्बु रहेको र उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा संलग्न सवारीसाधन र चालक प्रहरीले नियन्त्रणमा लिएको र घटनाको थप अनुसन्धान भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी प्रहरी उपरीक्षक सुनिल दाहालले जानकारी दिए ।
कोहलपुर खबर । १० फाल्गुन २०७९, बुधबार १५:२४