फागुन, ५ काठमाडौं / महाशिवरात्रि पर्वको अवसरमा गौशालास्थित पशुपति क्षेत्रमा आज रातिदेखि नै दर्शनार्थीहरूको भिडभाड हुने भएकाले आवश्यकताअनुसार सवारीसाधनलाई डाइभर्सन गरिने भएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार गौशाला क्षेत्रतर्फ जाने सवारी साधनहरुलाई चावहिल, पुरानो बानेश्वर, ज्ञानेश्वर, मैतीदेवीमोड, रातोपुल, सेतोपुल, कालोपुल, सिफलचौर, कुटुवहाल, गौरीघाट र तिलगंगाबाटै डाइभर्सन गरिनेछ।
त्यसैगरी मालवाहक सवारी साधनहरूलाई भने तीनकुने, जोरपाटी, चुच्चेपाटी, सिनामंगलपुल र बसुन्धाराबाटै डाईभर्सन गरिने भएको छ। गौशाला क्षेत्रमा शनिबार गरिने सवारी व्यवस्थापनमा थप सहयोगी भुमिका निर्वाह गर्न चालकहरूलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले अनुरोधसमेत गरेका छन्।
शनिबार परेको महाशिवरात्रिका लागि पशुपति क्षेत्र विकास कोषले कम्तीमा २० लाख श्रद्धालुले पशुपतिनाथको दर्शन गर्ने अनुमान गरेको छ।
कोहलपुर खबर । ५ फाल्गुन २०७९, शुक्रबार १७:१०