राष्ट्रपतिमा सघाए प्रचण्डलाई पूर्ण कार्यकाल प्रधानमन्त्री दिने कांग्रेसको संकेत

फागुन, ५ काठमाडौं / नेपाली कांग्रेसले सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले राष्ट्रपति निर्वाचनमा आफ्ना उम्मेदवारलाई समर्थन गरे पूर्ण कार्यकाल प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा स्विकार्ने संकेत दिएको छ।

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राष्ट्रपतिमा सत्तारुढ दल माओवादी केन्द्रले आफ्नो उम्मेदवारलाई समर्थन गरेको खण्डमा कांग्रेसले पनि ५ वर्ष नै प्रधानमन्त्री दाहाललाई समर्थन गरेर अघि बढ्नुपर्ने बताएका छन्।

उनले अहिलेको परिवेशमा नेपाली कांग्रेसकै उम्मेदवार राष्ट्रपतिमा सबैभन्दा स्वाभाविक हुने बताए। उनले संविधान रक्षाका लागि नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको उल्लेख गर्दै राष्ट्रपतिको पद महत्त्वपूर्ण भएको बताए।

‘राष्ट्रपतिमा राष्ट्रिय सहमति बन्नु सबैभन्दा उपयुक्त हुन्छ। संविधानको रक्षाका पक्षधर पार्टीहरू एक ठाउँमा उभिएर कांग्रेसका उम्मेदवारलाई विजयी बनाउनु पर्छ। गठबन्धनमा खास गरेर नेकपा (माओवादी केन्द्र) र यसको नेता प्रधानमन्त्री प्रचण्डजी त्यस वेला संविधानको रक्षाको विषय नै प्रमुख विषय बनाएर नेपाली कांग्रेस नेतृत्वमा गठबन्धन बनेको हो। उहाँहरूले नै त्यो कुरा अघि सार्नुभएको हो।’

यो विषय नेपाली कांग्रेसको राष्ट्रपति हुने वा नहुने भन्ने विषयमा मात्रै यो विषय सीमित नरहेको उनको भनाइ छ।

उनले भने, ‘हाम्रो पार्टीगत स्वार्थको विषय मात्रै छैन। यसलाई विश्वास गर्ने कुनै पार्टीसँग पनि यो जोडिएकाले यसमा एमाले पार्टी सहमत नभइराख्दा कहाँ उभिने भन्ने कुरा निर्क्यौल गर्नुपर्छ। त्यस्तो अवस्था आयो भने  प्रधानमन्त्री त्यसका लागि तयार हुनुपर्छ। राष्ट्रपतिमा कांग्रेसतर्फको उम्मेदवारलाई समर्थन गर्दा नेपाली कांग्रेसले दिएको विश्वासको मतलाई निरन्तरता दिनुपर्छ। सबैभन्दा ठूलो दल बाहिर हुनु नै बिडम्वना छ। कुनैपनि दलको बहुमत नआउने निश्चित बहुमत नआउने अवस्थामा तेस्रो, चौथो पार्टी निर्णायक हुने अवस्था छ।’

प्रवक्ता महतले राष्ट्रपतिमा कांग्रेसका उम्मेदवारलाई समर्थन गर्दा कांग्रेसले पनि प्रधानमन्त्री दाहाललाई दिएको विश्वासको मतलाई पूर्ण कालका लागि निरन्तरता दिनुपर्ने बताए। उनले राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक व्यवस्थाको बर्खिलापमा काम गरेको आरोप लगाउँदै आगामी दिनमा यस्ता गतिविधि दोहोरिन नहुने बताए।

प्रवक्ता महतले सबैभन्दा ठूलो दल बनेर सत्ता बाहिर बस्नु कांग्रेसका लागि बिडम्वनाको विषय भएको उल्लेख गर्दै अहिलेको सत्ता गठबन्धन स्वार्थकेन्द्रित रहेको उल्लेख गरे।