जुम्लाको बाराकोटे बाडामा पहिरो जाँदा एकै परिवारका ५ जनाको मृत्यु

 २२ असोज कोहलपुर / जुम्लाको कनकासुन्दरी गाउँपालिका वडा नम्बर ५ बाराकोटे बाडा भन्ने ठाउँमा पहिरो जाँदा एकै घरका ५ जनाको पहिरोमा पुरिएर मृत्यु भएको छ भने २ जना बेपत्ता भएका एका छन् ।

पहिरोमा पुरिएर ज्यान गुमाएका गणेश बहादुर शाही, उनको छोरा रमेश, रमेशकी श्रीमती पानसरा र उनीहरुका छोराहरु अनमोल र मिलनको पहिरोमा पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी धर्मराज जोशीले जानकारी दिए हुन् ।

प्रहरी निरीक्षक जोशीका अनुसार आज बिहान करिब ३,४ बजेतिर घरमाथि पहिरो खसेर उनीहरु पुरिएका थिए । उनीहरुका छिमेकी सुरेन्द्र हमाल र गणेश बहादुर शाही पहिरोमा बेपत्ता छन् । उनीहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले बताएको छ ।

घटनास्थलबाट दुई जनालाई घाइते अवस्थामा उद्धार गरिएको र घाइतेहरुमध्ये रामबहादुर हमालको अवस्था सामान्य र सरस्वती हमालको अवस्था गम्भीर रहेको प्रहरी निरीक्षक जोशीले जानकारी दिए । उनीहरुको अहिले स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

हेलिकोप्टर झिकाएर उनीहरुलाई उपचार गर्न सुविधासम्पन्न अस्पताल लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पहिरो गएर बाटाहरु सबै बन्द भएकाले हेलिकोप्टर झिकाउनुको विकल्प छैन ।

यसैबीच गृहमन्त्री बालकृष्ण खाँणले घाइतेको उद्धार र पुनस्थापनामा कुनै कसुर बाँकी नराख्न गृहप्रशासन र प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको उनको सचिवालयले जनाएको छ । अनलाइनखबर