के हो पेगासस? कसरी हुन्छ ह्याकिङ?

कोहलपुर – पेगासस स्पाइवेयर वा ह्याकिङ सफ्टवेयर प्रयोग गरी भारतसहित ११ देशका पत्रकार, अधिकारकर्मी, राजनीतिकर्मी, व्यापारी लगायतको फोन ट्यापिङ भएको खबर अहिले चर्चामा छ।

इजरायलको साइबर सुरक्षा कम्पनी एनएसओ ग्रुपले निर्माण गरेको पेगासस सफ्टवेयर विभिन्न देशका सरकारहरूले खरीद गरी आफ्ना आलोचकमाथि निगरानी राख्न प्रयोग गर्ने गरिएको बताइन्छ।

“पेगाससको आक्रमणमा परेका जति पनि भारतीय पत्रकार छन्, उनीहरू मोदी सरकारका आलोचक हुन्,’ द इन्डियन एक्सप्रेसका पत्रकार आशिष आर्यनले ‘थ्री थिङ्स’ पडकास्ट मा भनेका छन्, “उनीहरू सरकारले गरेका भ्रष्टाचारबारे समाचार लेख्छन्। यही कारण आफूहरू आक्रमणमा परेको तिनको भनाइ छ।”

पेगासस मार्फत निगरानीमा राखिएका भनिएकामध्ये इन्डियन एक्सप्रेसका मुजमिल जलिल, रीतिका चोपडा र सुशान्त सिंह पनि छन्। द हिन्दू, द वायर, हिन्दुस्तान टाइम्स, इन्डिया टुडे लगायत मिडियाका पत्रकारको मोबाइल ट्यापिङ गरिएको बताइएको छ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी ९पृष्ठभूमिमा० र राहुल गान्धी। स्रोतः गार्डियन

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका प्रमुख राजनीतिक प्रतिद्वन्द्वी राहुल गान्धीका दुई वटा फोन नम्बर सर्भिलेन्समा राखिएकोबारे द गार्जियनले लेखेको छ। “गान्धीका कम्तीमा पाँच जना नजिकका साथी र कांग्रेस पार्टीका अधिकारीहरू पनि सम्भावित टार्गेट थिए,” लेखमा भनिएको छ, “सन् २०१९ को राष्ट्रिय चुनावअघि र पछि पनि एनएसओका ग्राहकले गान्धीमाथि निगरानी गरेका थिए।”

हालै पदभार सम्हालेका भारतका सूचना तथा सञ्चार मन्त्री अश्विनी वैष्णवले भने पेगासस जासूसी काण्ड झुटो र आधारहीन भएको बताएका छन्। यद्यपि, उनी र उनकी श्रीमतीको समेत फोन नम्बर उक्त सूचीमा छ।

फ्रान्सको सञ्चारमाध्यम फर्बिडन स्टोरिज र एम्नेस्टी इन्टरनेशनलको पहलमा विभिन्न १० देशका १७ वटा मिडियाका ८० भन्दा बढी पत्रकार सम्मिलित टोलीले एनएसओसँग रहेका ५० हजारभन्दा बढी फोन नम्बरको सूची आफूहरूले फेला पारेको जनाएको छ।

यी देशका पत्रकार निगरानीको निशानामा परेका थिए। स्रोतस् पेगासस प्रोजेक्ट
पेगासस प्रोजेक्ट रिपोर्टमा भनिए अनुसार, ती फोन नम्बर भारत, हंगेरी, अजरबैजान गरी ११ देशका सरकारले एनएसओलाई उपलब्ध गराएका हुन्। एसएमएस, ह्वाट्सएप, आईमेसेज वा मिस्ड कलबाटै प्रयोगकर्ताको मोबाइलमा पेगासस प्रोग्राम स्वतः इन्स्टल्ड हुन्छ।

यो ‘जिरो क्लिक स्पाइवेयर सफ्टवेयर’ भएकाले प्रयोगकर्ताले कुनै लिंक वा मेसेज नखोलीकनै यो सफ्टवेयर तिनको मोबाइलमा इन्स्टल्ड हुने बताइन्छ। र, यसबारे प्रयोगकर्तालाई सुइँको समेत हुँदैन। तसर्थ, यसलाई विश्वकै खतरनाक जासूसी सफ्टवेयर मानिन्छ।

एकपल्ट इन्स्टल्ड भएपछि यस मार्फत फोनमा भएका फोटो, भिडियो, एसएमएस, कल रेकर्डिङ, इमेल, कन्ट्याक्ट नम्बर, ठेगाना, क्यालेन्डर वा मोबाइलका सम्पूर्ण डेटा एनओएसओको पहुँचमा पुग्छ। यसलाई मोबाइलबाट हटाउन पनि कठिन हुन्छ। यसले क्यामरा, माइक्रोफोन र जीपीएस स्वतः अन गरिदिन सक्छ।

स्रोत – हिमाल खबर