मार्सल राज सन्ज्याल
१४ भाद्र काठमाडौँ / हिन्दू नारीहरूको महान् पर्व तिजको अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शनार्थीले दर्शन एवं पूजा आराधना गरेका छन् । मंगलबार बेलुकी सात बजेसम्म करिब सात लाख भन्दा बढि भक्तजनहरुले पशुपतिनाथ मन्दिरमा दर्शन गरेको महाशाखा प्रमुख गौरीशंकर पराजुलीले जानकारी दिए । बेलुकी आरती चलिरहेका बेला पनि पशुपति क्षेत्रमा भक्तजनको भीड भने उत्तिकै रहेको थिए ।
पर्वका अवसरमा मंगलबार पशुपतिनाथ मन्दिरमा बिहानैदेखि भक्तजनको लामो भीड लागेको थियो । यस वर्ष भने पशुपतिनाथ मन्दिरमा विगतभन्दा सहज रुपमा दर्शन गर्न पाइएको भक्तजनले बताएका हुन् । पन्ध्र वर्षपछि पशुपतिनाथको पूर्वी ढोका खोलेपछि भक्तजनलाई दर्शन गर्न सहज भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
पशुपतिनाथ मन्दिरमा भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास रहेको छ । सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने बरदान पाएकी थिइन् ।
नारीले परिवारमा अभिभावकका रुपमा प्रतिनिधित्व गरी व्रत बस्ने भएकाले नसकेका अवस्थामा अथवा रजस्वला भएका बेलामा पुरुषले पनि व्रत बस्ने गरेका छन् । आत्मावादी र ईश्वरवादी दुवैले यो व्रत लिने र समग्रमा परिवारमा सुख, शान्ति र पारलौकिक सद्गतिका लागि तीजको व्रतको महत्व रहेको मानिन्छ ।
संस्कृत भाषामा ‘हरित’ र ‘आलीका’ दुईवटा शब्द मिलेर हरितालिका शब्द बनेको हो । जसमा ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलीका’ शब्दको अर्थ साथी भन्ने शब्दलाई बुझाउछ । सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले श्री महादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ ।
तीजको व्रत नित्य र काम्य दुवै खालको भएको धर्मशास्त्रीय मान्यता छ । हरितालिका पर्व समापनका अवसरमा केही मानिसले आज पूजा लगाउँछन् । आज पूजा नलगाउनेले भने भाद्र शुक्ल चौथीका दिन बिहान गौदान एवं पूर्णपात्र दान गरेर व्रत समापन गर्ने प्रचलन छ ।
सोमबार राति दर खाएपछि औपचारिकरुपमा सुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौँथीका दिन गणेश भगवान्को पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ । नेपाली नारीले यो पर्व विशेष रुपमा मनाउँछन् ।
कोहलपुर खबर । १४ भाद्र २०७९, मंगलवार २१:४७