खेतमा गाडिएको अवस्थामा वालकको शव फेला

बैजनाथ ।  एक हप्ता अघिदेखि हराईरहेको भनिएका बाँके बैजनाथ ४ का १० वर्षिय बालकको शव खाल्डोमा गाडिएको अवस्थामा फेला परेको छ ।

कोहलपुर माविमा कक्षा ३ मा पढ्ने कुशल बुढा बैशाख ८ गतेदेखि हराएको भन्दै आमा यशोधा बुढाले इलाका प्रहरी कार्यालय कोहलपुरमा निवेदन दिएकी थिइन् । खेतमा गाडेको अवस्थामा बालकको शव फेला परेको हो । बालक बैजनाथ ४, नौलापुर घर भई कोहलपुरमा डेरा गरी बस्ने यशोधा कै छोरा भएको पुष्टि भएको छ ।

बाख्रा चराउन गएका मान्छेले मान्छेको खुट्टा देखेपछि प्रहरीलाई खबर गरेका थिए । शवभन्दा केही पर परालले छोपेको अवस्था साइकल र कुशलको टिसर्ट गाडिएको थियो ।

प्रहरीका अनुसार कुशलका बुबाको केही वर्ष पहिला नै मृत्यु भएको थियो । आमाले निरकनाथ योगीसँग दोस्रो विवाह गरेकी छन् ।  कोहलपुरमा डेरा गरी सबै सँगै बस्थे ।

प्रहरीले घटनाको बारेमा अनुसन्धान भइरहेको जनाउँदै अनुसन्धानका लागि कुशलको आमा र सौतेनी बुबालाई नियन्त्रणमा लिएको छ ।