प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको कार्यदल बैठकमा सिट बाँडफाँटको प्रस्ताव पेस हुँदै

    १ भदौ, काठमाडौं । सत्ता गठबन्धनको कार्यदलको बैठकमा आज सिट बाँडफाँटको प्रस्ताव पेस हुँदै छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज अपराह्न चार बजे बस्ने बैठकमा कार्यदल संयोजक कृष्ण प्रसाद सिटौलाले सिट बाँडफाँटको प्रस्ताव पेस गर्न लागेका छन् ।

कार्यदलका एकजना सदस्य हिमलाल पुरीले आजको बैठकमा मोडालिटी तयार गर्ने जिम्मेवारी लिएका छन् । कार्यदल संयोजक कृष्ण प्रसाद सिटौलाले उक्त बैठकको मोडालिटी पेश गर्नेछन् ।

गत साउन २० गते बसेको पाँचदलीय गठबन्धनका शीर्ष नेताहरुको बैठकले प्रदेश र प्रतिनिधिसभा चुनावमा तालमेल गर्ने निर्णय गर्दै ११ सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदललाई कुन दलले कति सिट लिने भनेर साउन अन्तिम सातासम्म सिफारिस गर्न प्रस्ताव राखिएको थियो ।

अघिल्लो पटक बसेको कार्यदल बैठकले सिट बाँडफाँटको प्रस्ताव ल्याउने जिम्मा कार्यदल संयोजक सिटौलालाई दिएको थियो कार्यदलमा नेपाली कांग्रेसका पूर्वमहामन्त्री सिटौला, महामन्त्री गगनकुमार थापा र ज्ञानेन्द्रबहादुर कार्की छन् भने माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरूङ, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट रामसहाय यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन् ।