१ भदौ, काठमाण्डौ/ काठमाण्डौ उपत्यकामा आजदेखि सरकारले ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको झोलाको उत्पादन, आयात, बिक्रीवितरण र प्रयोगमा प्रतिबन्ध लगाएको छ । आजैदेखि ४० माइक्रोन भन्दा पातलो प्लाष्टिकको उत्पादन र कारोबार भए नभएको बारे अनुगमन गर्नै वातावरण विभागका प्रवक्ता शंकरप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार आज ठाउँ ठाउँमा अनुगमन टोली खटिनेछ । ४० माइक्रोन भन्दा पातला झोला प्रयोग नगर्न नगराउन सम्झाईबुझाई गरिने छ । तर, अटेर गरेमा वातावरण संरक्षण ऐन अनुसार कारबाही गरिने उनले बताए । गएको वर्ष साउन २८ गते सर्वोच्च अदालतले ४० माइक्रोनभन्दा कमका प्लास्टिक प्रतिबन्ध लगाउन अन्तरिम आदेशसमेत दिएको थियो । पहिलो चरणमा झोला उत्पादन गर्ने कम्पनीमा अनुगमन हुनेछ ।
लामो समयदेखि पातला प्लाष्टिकका झोलाको प्रयोगमा प्रतिबन्ध लगाउने भनिए पनि यो कार्यान्वयन हुन भने सकिरहेको छैन । तर, अबदेखि कडाइ गर्ने वातावरण विभागले जनाएको छ । यसअघि २०७२ सालको वैशाख १ गतेदेखि लागु हुनेगरी यो नियम बनाएको थियो । तर, त्यही महिना भूकम्प गएका कारण कार्यान्वयन हुन सकेन । धेरै प्रयोग हुने क्षेत्रहरूमा अनुगमन गर्ने र अनुगमनको क्रममा नियम पलना नगरेको पाइए कारबाही हुने वातावरण विभागका प्रवक्ता पौडेलले बताए।
कोहलपुर खबर । १ भाद्र २०७९, बुधबार ०८:११