१५ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा जनकपुर बोल्ट्सले विराटनगर किंग्सलाई ८ विकेटले पराजित गरेको छ । विराटनगर किंग्सले जितका लागि प्रस्तुत गरेको १ सय २८ रनको लक्ष्य जनकपुरले १५.३ ओभरमा २ विकेटको क्षतिमा पछ्यायो ।
जनकपुरको सुरुवात भने राम्रो हुन सकेन । आसिफ शेख पहिलो ओभरमा शून्य रन बनाएर क्रिस सोलको शिकार बने । स्कोरबोर्डमा १५ रन हुँदा कप्तान अनिल साह ५ रन बनाएर पभेलियन फर्किए । त्यसपछि लाहिरु मिलान्था र हर्ष थाकेरले शतकीय साझेदारी गर्दै टोलीलाई जितसम्म डोऱ्याए । मिलान्थाले अर्धशतकीय इनिङ्स खेल्दै ७५ रन बनाए। उनले मात्र ५३ बलमा ९ चौका र ३ छक्का हिर्काए ।
हर्षले २९ रनको योगदान दिए । विराटनगरका लागि क्रिस सोल र प्रतीश जिसीले १-२ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले १९ ओभरमा सबै विकेट गुमाएर १ सय २७ रन बनाएको थियो । टोलीका लागि अनुभवी व्याटर मार्टिन गष्टिलले अर्धशतक बनाए । उनले ४३ बलमा ५५ रनको इनिङ्स खेले । यसक्रममा उनले ७ चौका र एक छक्का हिर्काए । अकिब इलियासले १८ बलमा १५ रनको योगदान दिए ।
अन्य व्याटरले भने ठुलो योगदान दिन सकेनन् । बसिर अहमद, अनिल खरेल र कप्तान सन्दीप लामिछानेले ७-७ रन जोडे । जनकपुरका लागि ललित राजवंशीले शानदार बलिङ गर्दै ३ विकेट लिए। ४ ओभरमा उनले मात्र २८ रन खर्चिए। त्यस्तै, हर्ष थाकेरले २ विकेट हात पारे। ४ ओभर बलिङ गरेका उनले २२ रन खर्चिए । किशोर महतोले २ विकेट लिए भने बेन माइक र मोहम्मद मोहसिनले १-१ विकेट लिए ।
कोहलपुर खबर । १५ मंसिर २०८१, शनिबार १९:०२