६४ लाख पासपोर्ट छाप्न टेन्डर आह्वान

राहदानी विभागले एकैपटक ६४ लाख थान राहदानी छपाइका लागि टेन्डर आह्वान गरेको छ ।

बिहीबार विभागले बोलपत्र आह्वान गर्दै २ वटा प्याकेजमा आवेदन मागेको हो । विद्युतीय राहदानी प्रणालीको प्रि–इनरोलमेन्ट, इनरोलमेन्ट, डाटा म्यानेजमेन्ट र डेलिभरी सिस्टमका लागि पहिलो प्याकेज बनाइएको छ ।

दोस्रो प्याकेजको ठेक्कामा भने पर्सनलाइजेसनसहितको बुकलेट, गुणस्तर नियन्त्रण र प्याकिङ सिस्टमको काम राखिएको छ। विभागले ४५ दिनको म्याद राखेर पासपोर्टको ठेक्का गरेको हो। १२ जनवरी २०२५सम्म इच्छुक कम्पनीले बोलपत्र पेश गर्न पाउनेछन् ।

विभागमाथि अहिले चालु ठेक्का भेरिएसन गरेर संलग्न कम्पनीलाई थप काम दिन दबाब थियो । २० डिसेम्बर २०२० मा राहदानी विभागले फ्रान्सको ‘आईडीईएमआईए आइडिन्टी एन्ड सेक्युरिटी’ सँग ई–पासपोर्ट छपाइका लागि दुई अर्ब ४८ करोड रुपैयाँमा खरिद सम्झौता गरेको थियो ।

यो ठेक्काअनुरूप आईडीईएमआईए आइडिन्टी एन्ड सेक्युरिटीलाई २० लाख मात्रै पासपोर्ट छपाइ भए पछि २ असार २०८०को मन्त्रिपरिषद्‍को निर्णयअनुसार थप २८ लाख पासपोर्ट सोही ठेक्का भेरिएसन गरेर छाप्न दिने निर्णय भएको थियो ।

अब फेरि त्यसैगरी दोस्रो पटक २० लाख पासपोर्ट छाप्ने गरी ठेक्का भेरिएसन गर्न दबाब भएपछि विभागले ढिला गरी पासपोर्ट छपाइका लागि टेन्डर आह्वान गर्ने निर्णय गरेको हो ।

हाल विभागसँग करिब १३ लाख छपाइ गर्न बाँकी पासपोर्ट मौज्दात छ। विभागले मासिक औसत १ लाखको पासपोर्ट वितरण गर्दै आएको छ । यस्तो अवस्थामा अब मौज्दात पासपोर्टले बढीमा एक वर्ष मात्रै धान्ने अवस्था छ। अब नयाँ टेन्डर प्रक्रिया पूरा भएर कहिलेसम्म खरिद सम्झौता हुन्छ भन्ने यकिन छैन ।

विभागका महानिर्देशक तीर्थराज अर्यालले ६४ लाख थान पासपोर्ट छपाइका लागि भएको टेन्डर प्रक्रिया पुर्‍याएर छिट्टै सम्झौता हुने बताए ।