नेपालले अमेरिकाविरुद्धको टी–२० आई सिरिज एक खेल अगावै जितेको छ ।
दोस्रो टी- २० अन्तर्राष्ट्रिय खेलको ‘सुपर ओभर’मा घरेलु टोली अमेरिकालाई हराउँदै नेपालले ती खेलको शृंखला एकअघि अगावै जितेको हो । निर्धारित २० ओभरको खेलमा दुबै टोलीले १७० रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो ।
सुपर ओभरमा पहिला ब्याटिङ गरेको अमेरिकाले तीन रनको लक्ष्य दियो । सोमपाल कामीले तेस्रो बलमै सायन जहान्गिरको विकेट लिँदै अमेरिकालाई दबाबमा राखेका थिए । चौथो बलमा उनले आरोन जोनेसको विकेट लिएपछि नेपालले जम्मा ३ रनको लक्ष्य पायो ।
जवाफमा नेपालको लागि क्रिजमा कप्तान रोहितकुमार पौडेल र कुशल भुर्तेल आएका थिए। उनीहरुले तीन बलमा लक्ष्य पूरा गरे ।
आज बिहान अमेरिकाको डालासमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ६ विकेट गुमाउँदै १७१ रनको लक्ष्य दिएको थियो । प्रत्युत्तरमा अमेरिकाले पूरा २० ओभर खेल्दा ७ विकेट गुमाएर १७० रन नै बनाएपछि खेल सुपर ओभरमा पुगेको हो ।
अमेरिकाको लागि आन्द्रेस गौसले ४३ बलमा तीन चौका र चार छक्कासहित सर्वाधिक ६२ रन बनाए । ओपनर साइटेजा मुक्कामल्लले ४१ बलमा ४७ रनको योगदान गरेका थिए । दुई खेलाडीबीच शतकीय साझेदारी भएको थियो ।
नेपालका करण केसीले सर्वाधिक तीन विकेट हात पारे । सोमपाल कामीको नाममा दुई तथा सागर ढकाल र दीपेन्द्रसिंह ऐरीले समान एक विकेट लिएका थिए ।
नेपालका टस जितेर ब्याटिङ गरेको नेपालको लागि तेस्रो नम्बर क्रिजमा आएका कुशल भुर्तेलले ५४ बलमा ७ चौका र ६ छक्कासहित सर्वाधिक ९२ रन बनाए ।
ओपनर अनिल कुमार शाहले २५ तथा गुल्शन झाले १७ र कप्तान रोहितकुमार पौडेलले १८ रनको योगदान गरे । अमेरिकाका जसदीप सिंह र नोस्थुस केन्जिगेले समान दुई विकेट लिए । सौरभ नेत्राभाल्करले एक विकेट हात पारे । यसअघि पहिलो खेलमा नेपालले अमेरिकालाई १७ रनले हराएको थियो । अब, तेस्रो खेल सोमबार बिहान हुनेछ ।
कोहलपुर खबर । ४ कार्तिक २०८१, आईतवार २०:३१