सहकारी ठगीमा रवि लामिछाने पक्राउ

काठमाडौँ । सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई उनकै पार्टी कार्यालयबाट आज साँझ पक्राउ गरिएको छ ।

सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोपमा अनुसन्धान गर्न कास्की जिल्ला अदालतबाट पक्राउको अनुमति लिइएको केही घण्टामै प्रहरीको सिआइबीले उनलाई काठमाडौँस्थित रास्वपाको केन्द्रीय कार्यालयबाट पक्राउ गरेको हो । उनलाई आजै पोखरा लैजाने तयारी गरिएको छ ।  पोखराको सूर्यदर्शनसमेतका ७ सहकारीबाट ६५ करोड रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा गएको अनुसन्धानबाट खुलेको छ । उक्त रकम लामिछानेले परिचालन गरेको पाइएको छ ।

गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रहेका लामिछानेले जीबी राईसँग मिलेर सहकारीको पैसा अपचलन गरेको संसदीय छानबिन विशेष समितिले निष्कर्ष निकालेको थियो । सोही आधारमा कारबाही सिफारिससमेत गरिएको थियो ।