१९ भदौ, कोहलपुर । प्रहरीले बाँकेको एक सामुदायिक वनबाट दुई थान भरुवा बन्दुक बरामद गरेको छ । राप्तीसोनारी गाउँपालिका-४ स्थित शिख सामुदायिक वनबाट बेवारिसे अवस्थाका दुई थान भरुवा बन्दुक बरामद गरेको हो ।
इलाका प्रहरी कार्यालय बैजापुरका नायब निरीक्षक भद्रसिंह वलीको कमाण्डमा चार प्रहरी र शिख सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीले गस्ती गर्दै जाने क्रममा बुधबार बिहान सवा ४ बजेतिर बन्दुक फेला परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी निरीक्षक यामबहादुर बुढामगरका अनुसार कुम्भरदेखि बाँसखोली जाने गोरेटो बाटोमा एकनाले घरेलु भरुवा बन्दुक बरामद भएको हो । बन्दुकसहित त्यसमा प्रयोग हुने बारुद र छर्रासमेत बरामद गरेएको उनले जानकारी दिए ।
बेवारिसे बन्दुकबारे अनुसन्धान गरिरहेको बाँके प्रहरीले जनाएको छ ।
कोहलपुर खबर । १९ भाद्र २०८१, बुधबार १३:०५